काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय विषयगत समितिमा विचाराधीन विधेयकमाथि दफावार छलफल अघि बढेको छ। विभिन्न विषयसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्‍याउने उद्देश्यसहित समितिहरूले छलफललाई तीव्रता दिएका हुन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयकमाथि छलफल भइरहेको छ। उक्त विधेयकबारे थप छलफल गर्न सोमबार बिहान ११ बजे समितिको बैठक बोलाइएको छ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथि संशोधनकर्ता सांसदहरूको सहभागितामा दफावार छलफल गर्दैछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ। यस्तै, अर्थ समितिले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग छलफल गर्ने भएको छ।

चारवटै समितिका बैठक सिंहदरबारमा बस्नेछन्।

संघीय संसद्का दुवै सदनमा हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन्। तीमध्ये प्रतिनिधिसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक रहेका छन्।

संघीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच, अर्थ समितिमा चार, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा तीन र महिला तथा सामाजिक मामिला समितिमा तीन वटा विधेयक विचाराधीन छन्।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दुई तथा राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वटा विधेयक रहेका छन्।

कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिमा पनि एक–एक वटा विधेयक विचाराधीन अवस्थामा छन्।

Leave a Reply