कृष्णउदास खनाल
वीरगन्ज,मधेस प्रदेशमा लगभग सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूरै जीत हासिल गरेको छ ।मधेसको ३२ क्षेत्रमध्ये हालसम्म परिणाम सार्वजनिक भएको ३० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । रौतहट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित हुनुभयो भने निर्वाचन आयोगले रोकेका कारण धनुषा १ परिणाम सार्वजनिक हुन बाँकी छ ।
कालो सुचिमा परेकोभन्दै रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएकोमा उनले नै धेरै मत ल्याएपछि आयोगले अन्तिम निर्णय सुनाएको छैन । साहले सर्वोच्चमा रिट दिनु भएको छ ।निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एकपत्र पठाउँदै सर्वोच्चले विवाद निरुपण नगरेसम्म मत परिणाम सार्वजनिक नगर्न भनेको छ ।
मधेसमा सप्तरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत आठ जिल्ला छन् । रौतहटमा फिरदोशले २९ हजार ५ सय २८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपाका किरणकुमार साहले १८ हजार ४ सय ४२ मत गर्नुभयो ।
रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५ले प्राप्त गर्नुभयो । मधेसका जिल्लाहरूमा रोचक त के भने रास्वपाका सबै उम्मेदवार १० हजारभन्दा बढी मतान्तरले जितेका छन् । यति मात्र होइन कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा, मधेस केन्द्रित दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पराजय भोग्नु परेको छ ।
हेवीवेट मानिनुभएका नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव नै ठूलो मतान्तरले पराजित हुनुभयो । सप्तरी क्षेत्र नं. १ बाट रास्वपाकी पुष्पाकुमारी चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित हुनुभयो भने सिरहा क्षेत्र नं. १ बाट बबलु गुप्ता, २ बाट शिव यादव, ३ बाट शम्भुकुमार यादव र ४ बाट तपेश्वर यादव विजयी हुनुभयो ।
धनुषा क्षेत्र नं. २ बाट रामविनोद यादव, ३ बाट मनिष झा र ४ बाट राजकिशोर महतो निर्वाचित भएका छन् । महोत्तरी क्षेत्र नं. १ बाट रास्वपाकै प्रमोद महतो, २ बाट डा. दीपककुमार साह, ३ बाट उज्वल झा र ४ बाट गौरीकुमारी यादव निर्वाचित भएका हुन् ।सर्लाही क्षेत्र नं. १ बाट निकिताकुमारी भण्डारी, २ बाट रविन महतो, ३ बाट नरेन्द्र साह र ४ बाट डा. अमरेश सिंह निर्वाचित भएका छन् । रौतहट क्षेत्र नं. १ बाट रास्वपाकै राजेश चौधरी, ३ बाट रास्वपाका रविन्द्र पटेल र ४ बाट गणेश पौडेल विजयी भएका हुन् भने बारा क्षेत्र नं. १ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरविन्द साह र ४ बाट रहवर अन्सारी निर्वाचित भएका छन् ।यस्तै, पर्सा क्षेत्र नं. १ बाट रास्वपाकै बुद्धिप्रसाद पन्त, २ बाट सुशील कुमार कानु, ३ बाट रामाकान्त प्रसाद चौरसिया र ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका हुन् । यी निर्वाचन क्षेत्रहरुमा यसअघिका चुनावमा एमाले,काँग्रेस तथा थोरैमा माओवादी र मधेशवादी दलहरु बिजयी हुनु गरेका थिए

















