सप्तरी । सप्तरीको राजविराजस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य संरचना डोजर लगाएर हटाइएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजर परिचालन गरी कार्यालय परिसरभित्र लेखापढी व्यवसायीले निर्माण गरेका अवैध संरचना हटाइएको हो।
संरचना हटाइएपछि मालपोत कार्यालयमा हुने बिचौलियाको पहुँच नियन्त्रण गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी थापाले बताएका छन्।
यसअघि कार्यालयले पटकपटक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा विभिन्न संघसंस्थाका कार्यालय हटाउन आग्रह गरेको थियो। तर, सम्बन्धित व्यवसायीले कार्यालय परिसर खाली गर्न अटेर गर्दै आएका थिए।
यसैबीच, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रका सार्वजनिक सडक तथा फुटपाथमा गरिएको अतिक्रमण हटाउने अभियानलाई पनि तीव्रता दिएको छ।
कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार पटकपटक सूचना जारी गर्दा पनि अतिक्रमित क्षेत्र खाली नगरिएपछि नगरप्रहरी र डोजर परिचालन गरेर संरचना हटाउन थालिएको हो।
नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।















