सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी र तोडफोड गरेका छन्।

बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित बनेका हुन्। नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन्।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन्। त्यसपछि चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड तथा आगजनी गरेका थिए।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

आगजनीबाट बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा क्षति पुगेको प्रहरीले जनाएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। अस्पतालका सूचना अधिकारी राजेश गुप्ताका अनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ। त्यस्तै, आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आइतबार बिहानसम्म स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।

यद्यपि, गर्भवती महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।

Leave a Reply