कलैया,आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा जिल्लामा ४ लाख ३६ हजार ६५३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

४ वटा प्रतिनिधिसभा सदस्य र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बारामा पछिल्लो तथ्याङ्कअनुसार ४ लाख ३६ हजार ६५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा ६६ हजार ३५०, सोही निर्वाचन क्षेत्रको (ख) मा ५३ हजार ९७७, क्षेत्र नम्बर २ (क) मा ५२ हजार ८२०, निर्वाचन २ (ख) मा ५२ हजार ९५० मतदाता रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ (क) मा ५३ हजार २१९, ३ नम्बरकै (ख) मा ५० हजार ६०६ र निर्वाचन क्षेत्र नम्बर ४ (क) मा ५१ हजार १ र सोही निर्वाचन क्षेत्रको (ख) मा ५५ हजार ७३० मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय बाराका सूचना अधिकारी राजेन्द्रबहादुर दासले बताउनुभयो ।

४ वटा संघ र ८ वटा प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै क्षेत्र नम्बर १ मा एक लाख २० हजार ३२७ मतदाता रहेका छन् । त्यसपछिको दोस्रोमा निर्वाचन क्षेत्र नम्बर ४ पर्दछ जसमा १ लाख ६ हजार ७३१ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर २ र ३ मा भने मतदाता संख्या २ हजारको मात्रै अन्तर छ । जिल्लाको १६ वटा स्थानिय तहको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा कोहल्बी नगरपालिकाको १० वटा वडासहित बारागढी, आर्दशकोतवाल, निजगढ र सिम्रौनगढ नगरपालिकाको सम्पूर्ण वडाहरू पर्दछ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा कोहल्बी नगरपालिकाको वडा नम्बर ८ सहित महागढीमाई, पचरौता नगरपालिका, सुवर्ण, देवताल र करैयामाई गाँउपालिका पर्दछन ।

यता निर्वाचन क्षेत्र नम्बर ३ मा जीतपुरसिमरा उपमहानगरको ८ वटा वडा, कलैया उपमहानगरको २६ वटा वडा र फेटा गाउँपालिकाको ३ वटा वडा यसै निर्वाचन क्षेत्रमा पर्दछ । निर्वाचन क्षेत्र नम्बर ४ मा भने विश्रामपुर र परवानीपुर गाँउपालिका, जीतपुरसिमरा उपमहानगरको १६ वटा वडा, फेटा गाउँपालिकाको ४ र कलैया उपमहानगरको एउटा वडा पर्दछ ।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार सामान्यतया निर्वाचनमा कुल मतदाताको ८० देखि ९० प्रतिशत मत खस्ने गर्दछ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले जनाएको छ ।

Leave a Reply