कृष्ण मोहन साह
सेढवा,पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा– ५ चिलझप्टीमा कोरोना भाइरस संक्रमणबाट ४ जनाको ज्यान गएपछि गाउँ नै सिल गरिएको छ । त्यसैगरी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा जिल्ला जनस्वास्थ कार्यालय पर्साबाट गएको चिकित्सकहरुको टोलीले शंकास्पदहरुको स्वाव संकलन कार्य पनि सुरु गरेको छ । गाउँपालिका अध्यक्ष जालिम मिया तथा उपाध्यक्ष बिस्मिल्लाहा खातुनको आग्रहमा स्वाब संकलन सुरु गरिएको हो ।
जिल्ला जनस्वास्थ कार्यालय पर्साबाट बुधबार खटिएका चिकित्सक टोलीले चिलझपटी गाउँमा स्वाब संकलन गरि एनटिजेन परीक्षण गर्दा ११ जनामा मध्ये ७ जनाको रिपोर्ट पोजिटिभ पाइएको तथा २५ जनाको स्वाब पिसिआर टेष्टको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ।कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिने हुनाले गाउँमा संक्रमण फैलिन नदिन गाउँलाई नै सिल गरि पूर्ण रुपमा आवागमनमा प्रतिबन्ध लगाइएको गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले जानकारी दिनुभएको छ । साथै बिहिबारदेखि प्रत्येक घर–घरमा पुगेर स्वाब संकलन तथा संक्रमितहरुलाई गापाबाट निशुल्क औषधि समेत वितरण गरिने उपाध्यक्ष खातुनले बताउनुभएको छ ।
कोरोना संक्रमणका कारण वीरगन्ंजमा बेडको अभाव र उपचार नपाएर ज्यान गुमाउने संख्या दिनानुदिन बढदै गएपछि गाउँपालिकाले आफ्नो पालिकाका जनताको लागि वीरगन्स्थित होटेल साह दरबारमा २५ बेड सहितको आइसोलेसन वाड तयार गरेको हो । उपप्रमुख खातुनकाअनुसार जगरनाथपुर गाउँपालिकामा कुनै पनि व्यक्ति संक्रमित भएमा निशुल्क औषधि तथा संक्रमितलाई थप उपचारको लागि गापाको एम्बुलेन्सबाट आईसोलेसनमा लगिने भएको छ । त्यसैगरी संक्रमितको थप उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने गापा अध्यक्ष जालिम मियाले घोषणा गर्नुभएको उहाँले बताउनुभयो