सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मौन अवधिभर मदिरा बिक्री, वितरण र सेवनमा पूर्ण रोक लगाइने भएको छ। प्रशासनले शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको निर्णयअनुसार, फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थमा रोक लाग्नेछ।

निर्वाचन र फागु पूर्णिमा (होली) पर्वलाई मध्यनजर गर्दै फागुन १५–१८ गतेसम्म होटल व्यवसाय राति ८ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। प्रशासनले यो निर्णयले झगडा र अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अनाधिकृत मदिरा पसलमा अनुगमन र सर्च अभियान सञ्चालन गरिने र नियम उल्लंघन गर्नेमाथि कानुनी कारबाही गरिने बताए।

यसअघि नै फागुन १५–२२ गते जिल्लामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।

Leave a Reply