सिम्रौनगढ,बाराको सिम्रौनगढ क्षेत्रमा लगाइएको धान बालीमा हाल्नु पर्ने युरिया मलको अभाव हुँदा किसानहरु चिन्तित् भएका छन् । रोपाइ गरेको २५ दिनपछि धान गाज हाल्ने बेलामा धान बालीमा युरिया मल हाल्नु पर्ने हुन्छ । तर अहिले बजारमा युरिया मलको अभाव हुँदा सिम्रौनगढका किसानहरु चिन्तित् भएका हुन् ।
सिम्रौनगढ क्षेत्रको सिम्रौनगढ, खजानी, हरिहरपुर, गङगानगर, देवापुरटेटा, च्युटाहा, हरनैया, टेढाकट्टी, कचोर्वा लगायतका गाँउका खेतमा लगाइएको धानबालीमा अहिले युरिया मल हाल्ने बेला भइसकेको छ । तर मल नपाउदा बाली बिग्रने चिन्ताले सताइरहेको किसानहरुले बताएका छन् ।
नेपाल सरकारले अनुदनमा उपलब्ध गराउने युरिया मल ५० केजी बोराको ८ सय रुपैया पर्छ । तर मलको अभाव भएको मौका छापेर व्यापारीहरुले १ हजार ६ सय रुपैयामा मल बिक्री गरिरहेको किसानहरुको गुनासो छ । नेपालको बजारमा मलको अभाव हुदा किसानहरुले सिमावर्ती भारतीय बजार घोडासहन, छौडादानो, आदापुर, जयमुर्ती नगर, जमुनिया र चैनपुरपुरबाट एक÷दुई बोरा मल ल्याएर खेतमा हाल्दै आएका थिए । तर यसपाली भारतीय सिमामा तैनाथ नेपालका सशस्त्र प्रहरी र भारतका एसएसबीले कडाई गरेपछि सिमा पारीका बजारबाट पनि मल ल्याउन नपाएको देवापुरटेटाका एक कृषकले बताएका छन् ।
यसैबीच सिम्रौनगढको गोलागन्जस्थित कमलपुर नाकाबाट सशस्त्र प्रहरीले ३० बोरा युरिया मल नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा ३० बोरा मल, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोलागन्जस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले सिम्रौनगढ ७ स्थित कमलपुर नाकाबाट भारतीय व्यपारीहरुले ल्याउदै गरेको ३० बोरा मल नियन्त्रणमा लिएको हो । बरामद मल आवश्यक कारबाहीकोलागि वीरगन्ज भन्सार कार्यालयमा पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।