संसदको तेश्रो ठूलो दल पटक पटक सरकारमा सहभागी भएको पार्टी नेकपा माओवादी केन्द्र अहिले प्रतिपक्षमा छ । पटक पटक सरकारमा सहभागी भएर अहिले भर्खर केही महिनादेखि माओवादी प्रतिपक्षमा पुगेको हो ।कहिले कसैको बुईमा त कहिले कसैको बुईमा चढेर मुलतः माओवादी करिब सत्र वर्षदेखि सरकारमा छ । सरकारबाट हटेपछि भने माओवादीले जनताको कुरा धेरै गर्ने गर्दछ । यहाँ माओवादीको विरोध पनि गर्न खोजिएको होइन तर नेपालको राजनीतिमा सत्ता बाहिर रहदा नेताहरुलाई कत्तिको छटपटी हुदोरहेछ र जनताको याद आउछ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।
अहिले मेची महाकाली अभियानको नाउँमा माओवादीका अध्यक्ष सहितका नेताहरु हिजोको गुरिल्ला शैलीमा कुदिरहेको देखिन्छन । जनतासँग जोडिनु नराम्रो कुरा होइन तर माओवादी भनेको सशस्त्र संघर्षबाट उदाएको राजनीतिक दल हो । ऊसंग जनताको धेरै आशा र अपेक्षा थियो तर सरकारमा रहदा जनताको कत्ति पनि याद नआउने अनि सरकार बाहिर रहने बित्तिकै जनताको याद आउने कुरा गज्जबको छ ।
फेरि माओवादीहरुको आचरणपनि फेरिएको छ । हिजो जनताको घरमा जे पाक्यो त्यही खाने माओवादीहरु आज सकेसम्म जनताको घरमा बस्न र पस्न नपरे हुन्थ्यो भन्ने ठान्छन् ।सरकारमा रहदा माओवादीले खासै केही गरेको छैन । बरु जंगलमा रहदा गरेको थियो अनि सकारमा सहभागी नहुदाँसम्म जनताको कुरा उठाएको थियो । तर काँग्रेस र एमालेसंग मिलेर सरकार बनाएपछि भने माओवादी बिग्रिएको हो । त्यसैले पनि बिना मौसमको यो यात्राले खोइ के सार्थकता पाउला र ?















