रौतहट,रौतहटमा ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरि हत्या गरिएको छ ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ९ कुडवा टोलका हरेन्द्रप्रसाद साहकी २१ वर्षीय छोरी पुनम साहलाई घरपरिवारका सदस्यहरुले कुटपिट गरी हत्या गरेका हुन ।
पुनमको ५ वर्षअघि रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ संगैया टोलका सियाराम साहका छोरा रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा बिहीवार भएको पत्रकार सम्मेलनमा मृतक पुनम २ वर्षअघि गर्भवती भएको बेला पनि श्रीमान पक्षले अल्ट्रासाउण्ड गराएको र गर्भमा छोरी रहेको जानकारी पाएपछि डर त्रास र धम्की दिएर गर्भपतन गर्न लगाएको बताइएको छ । तर त्यसबेला पनि मृतक साहले आफनो गर्भमा रहेको बच्चा पतन गर्न नमान्दानमान्दै पनि श्रीमान, सासु र ससुराले जबरजस्ति गर्न गराएको पीडितका दाजु पन्नालालले बताउनुभयो ।
हाल दोश्रोपल्ट गर्भवती भएपछि पुनमको फेरि अल्ट्रासाउण्ड गराइएको र गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भ तुहाउन दबाव सुरु गरिएको थियो । पुनमले गर्भपतन गर्न इन्कार गरेपछि परिवारका सदस्यहरुले कुटपिट गर्दा उनको ज्यान गएको हो ।
हत्याको घटनालाई आत्माहत्या साबित गर्न पासो लगाएर घरको सिढीमा झुन्डिएको अवस्थामा पुनमको शव फेला परेको उहाँको भनाइ छ ।
गत साउन साउन १५ गतेका दिन बिहान ८ देखि १० बजेभित्रको समयमा पुनमको हत्या गरिएको भए पनि माइती पक्षलाई १२ घण्टापछि राति ८ बजेपछि मात्रै घटनाको बारेमा जानकारी गराइएको थियो । ‘हत्यापछि बहिनीको शव हेर्न पनि दिएनन, पुनमको दाजु पन्नालालले भन्नुभयो, प्रहरी र ससुरा पक्षका व्यक्तिहरु अपराध लुकाउन वास्तविकता ढाकछोप गर्न लागेका छन ।’ उहाँले बहिनीले आत्माहत्या गरेको देखाउन शव झुन्डाइएको र आफूहरुलाई शवलाई पोष्टमार्टम गरेको समेत हेर्न नदिइएको मृतकका दाजु साहले पत्रकार सम्मेलनमा बताउनुभयो ।
बहिनीको हत्या भएको ४ दिन बित्न लाग्दासमेत घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले चासो नदेखाएको पीडित पक्षले गुनासो गरेको छ ।
पीडित पक्षले मृतकको ससुरा सियाराम साह कानु, पति रबिन्द्र साह कानु, सासू लगायतले मिलेर पुनमको हत्या गरेको आरोप लगाएको छ । मृतकका पति रबिन्द्र साह कानुको आफ्नैं काका भुनेशवर साह नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक दर्जामा कार्यरत रहेकोले उनको दबावमा रौतहट प्रहरीले मुद्दा दर्ता नगरेको पुनमको दाजु पन्नालालले आरोप लगाउनुभएको छ ।
पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुसंग सहयोगको लागि आग्रहसमेत गरेको छ ।