काठमाडौं । नेपालले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तत्काल सञ्चालनमा ल्याउन कूटनीतिक पहल गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ संस्था ‘चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग भेटवार्ता गर्दै नाका खुलाउन आग्रह गरेका हुन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले रसुवागढी नाका बाढीका कारण बन्द रहेको र अन्य उत्तरी नाकासमेत हिउँदमा पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गरे।

काठमाडौंसँग सबैभन्दा छोटो दूरीमा रहेको तातोपानी नाका खुलाउँदा दुई देशबीचको व्यापार तथा आवागमन सहज हुने उनको भनाइ थियो।

जवाफमा चिनियाँ अध्यक्ष याङले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताएका छन्।

भेटमा दुई देशबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा पनि छलफल भएको थियो।

Leave a Reply