सिमरा,सहसचिव विरेन्द्रदेव भारतीलाई हाजिर गर्न रोकेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्लेले कामकाज शुरु गर्नुभएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुरसिमरामा सरुवा गरेपछि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आउनुभएका सहसचिव भारतीलाई नगर प्रमुख राजन पौडेलले हाजिर गर्न रोक लगाएपछि उपसचिव काफ्लेको रजगज फेरि शुरु भएको हो । काफ्लेले मंगलवारबाट प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसेर उपमहानगरपालिकाको कामकाज शुरु गर्नुभएको छ ।

भदौ २७ गते मन्त्रिपरिषद्को बैठकले सहसचिवको दरबन्दी रहेको जीतपुरसिमरा उपमहानगरपालिकामावीरेन्द्रदेव भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । असोज ७ गते सिमरा आइपुग्नुभएका भारती हाजिर गर्न नपाएपछि काठमाण्डौं फर्किनुभएको छ । नगर प्रमुख राजन पौडेलले पत्र लेखेर हाजिर गर्न नदिने बताएपछि भारती मंगलवार बेलुका नै काठमाण्डौं फर्किनुभएको हो ।

जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव स्तरको कर्मचारीको दरबन्दी छ । तर नगर प्रमुखपौडेलले सहसचिव भारतीलाई रोेकेर एक तह मुनिकी उपसचिव काफ्लेबाट नै नगरको काम चलाउने मनसाय बनाउनुभएको पाइएको छ ।सर्वोच्चले काफ्लेको पक्षमा आदेश नदिएपछि भारती नगर प्रमुख पौडेलकै सल्लाहमा हाजिर हुन सोमवार सिमरा आउनुभएको थियो । तर भारती कार्यालयमा आएपछि भने मेयर पौडेल भारतीलाई हाजिर गराउन अनिच्छुक देखिनुभएको हो ।

नगर प्रमुख पौडेल र उपप्रमुख भोला अधिकारीबीच शुरु भएको द्वन्दले कार्यालयको काम प्रभावित बनेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव भारती आउने भएपछि स्थानीयबासिन्दा हर्षित देखिएका थिए । मन्त्रालयले पनि उपसचिव काफ्लेले प्रमुख र उपप्रमुखसहित जनप्रतिनिधिहरुबीच चर्केको विवाद समाधान गर्ने भूमिका निर्वाहा गर्न नसकेको भन्दै सहसचिव भारतीलाई प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेर पठाएको बताइन्छ । तर भारतीलाई हाजिर नगराउँदा जीतपुरसिमरामा चल्दैआएको द्वन्द थप बढ्ने देखिएको छ ।

सहसचिव भारतीलाई जीतपुरसिमरामा पठाउने मन्त्रीपरिषदको निर्णय विरुद्ध उपसचिव काफ्लेले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।स्थानीय तह संचालन बारे राम्रो अनुभव भएको कर्मचारीको रुपमा चिनिनुभएका भारतीले भरतपुर महानगरपालीकामा मेयर रेणु दाहालसंग लामो समयसम्म काम गर्नुभएको थियो । त्यसैगरी भारतीसंग पोखरा,ललितपुर, बुटवललगायत १५ वटा स्थानीय तहमा कामगरेको अनुभव छ ।

Leave a Reply