काठमाण्डौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका पालिकामा अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।प्रतिनिभिसभाको आइतवारको बैठकमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसूस गरी त्यसको निर्माण शुरुआत गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि काम रोकिएको बताउनुभयो ।

अस्पतालको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि उपलब्ध स्रोत र साधनको प्राथमिकताकासाथ विनियोजन गरिरहेको र आउँदा वर्ष पनि प्राथमिकतापूर्वक विनियोजन गरिने ओलीको भनाई छ । यस्तै प्रधानमन्त्री ओलीले सरकारले खासगरी सडक पूर्वाधार विकासलाई महत्त्व दिई त्यही अनुरूप बजेट विनियोजन गर्ने र सिद्धबाबा सुरुङमार्गको निर्माणलाई गति दिइने बताउनुभयो । त्यसैगरी नागढुङ्गा सुरुङमार्गमा अहिलेसम्म ८५ प्रतिशत प्रगतिसहित अत्यावश्यक पर्ने लाइटिङ र भेन्टिलेसनहरूको काम भइरहेकोले निर्माण सम्पन्न हुने चरणमा रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा अहिलेसम्म तीन अर्ब ९५ करोड ६५ लाख रुपैयाँ रकम निकासा भइसकेको तथा रुकुम र जाजरकोटमा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिश रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको जानकारी सदनलाई गराउनुभयो ।प्रधानमन्त्री ओलीले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको बताउनुभयो । उखु र दुग्ध किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण भएको उहाँको भनाई छ ।



















