निजगढ,

सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ ।निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले गाडी नियन्त्रणमा लिएको हो ।जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयमा फिर्ता पठाएसकेको जानकारी दिनुभयो । नम्बर प्लेट परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गरेपछि खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले कार्तिक ५ गते २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आउनुभएको थियो । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि मन्त्री चौधरीले स्थानीय प्रशासनलाई झुक्याउन निजी नम्बर नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा प्रयोग गर्दै आउनुभएको थियो ।मन्त्री चौधरीले नम्बर प्लेट फेरेर प्रयोग गरेको उक्त जीप मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो हो । उक्त जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । खानेपानी मन्त्रालयकै प्रयोगमा रहेको उक्त जीपको नम्बर मन्त्री चौधरीले आफू चढ्ने सरकारी गाडीमा राख्नुभएको थियो ।सरकारी गाडीको नम्बर परिवर्तन गरेर मन्त्री चौधरीले प्रहरी सुरक्षा घेरामा चुनाव प्रचार गर्दै आउनुभएको थियो ।

Leave a Reply