काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशबीचको सम्पर्क तथा भेटघाटबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गरेको समिति अलपत्र परेको छ।

समितिका संयोजकसहित तीन जना सदस्यले स्वार्थको द्वन्द्व, निष्पक्षता र अधिकारक्षेत्रको प्रश्न उठाउँदै जिम्मेवारी लिन अस्वीकार गरेका छन्।

गत कात्तिक १६ गते वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिलाई एक महिनाभित्र तथ्य संकलन गरी सुझाव र सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

तर, संयोजक श्रेष्ठले सम्बन्धित मुद्दामा कानुनी बहस गरिसकेको भन्दै स्वार्थको द्वन्द्व देखिने आधारमा अलग भएका छन्। त्यस्तै, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र सुरेन्द्रकुमार महतोले पनि समितिमा बस्न अस्वीकार गरेका छन्।

बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार अब समितिलाई कसरी अघि बढाउने भन्ने विषयमा कार्यसमितिको बैठकबाट निर्णय गरिनेछ।

इनम सापकोटासँग न्यायपालिका, राजनीति, सुरक्षा निकाय र व्यापारिक क्षेत्रका व्यक्तिहरूको सम्पर्क तथा आर्थिक कारोबारबारे विभिन्न प्रश्न उठिरहेका बेला छानबिन समिति नै निष्क्रिय बनेको हो।

Leave a Reply