सिरहा । सशस्त्र प्रहरी बलले सिरहाका विभिन्न सीमा नाकाबाट ४२ लाख ५३ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते सञ्चालन गरिएको गस्तीका क्रममा भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रूपमा ओसारपसार भइरहेका सामान नियन्त्रणमा लिइएको हो।
बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्ती, कस्मेटिक, मदिरा, पेय पदार्थ, जुत्ता, हार्डवेयर, मोटरपार्ट्स, स्याउ तथा औषधिलगायत रहेका छन्।
बरामद सामग्रीको कुल मूल्य ४२ लाख ५३ हजार ५९३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका गणपति एसपी सुमन जंग थापाका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको छ।
















