निजगढ,बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले क्षेत्र नम्बर १ लाई विकासको नमूना बनाउने बताउनुभएको छ ।

क्षेत्र नम्बर १ क अन्तर्गत पर्ने सिम्रौनगढ नगरपालिकामा बुधवार पनि जारी चुनावी घरदैलो कार्यक्रममा आयोजित कोण सभामा बोल्दै मैनालीले सो कुरा बताउनुभएको हो । ‘सिमित स्रोत साधनका बाबजुद पनि धेरै काम गर्न सकिन्छ, उम्मेदवार मैनालीले भन्नुभयो एकपटक मौका दिनुहोस नमूना काम गरेर देखाउने छु ।’ उहाँले सिम्रौनगढ र बारगढी जस्ता ऐतिहासिक र पुरातात्वक महत्वका स्थानको विकासमा यसअघि निर्वाचित सांसदले कुनै काम नगरेको भन्दै यस क्षेत्रलाई मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो ।

‘सिम्रौनगढ क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो, मैनालीले भन्नुभयो, अब हामी निर्वाचित बनेपछि उनीहरु नै लज्जित हुने गरी काम गर्ने छौं ।’ उहाँले सिम्रौनगढ क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकतमा रहेको बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नम्बर १ (२) मा जसपा नेपालका उम्मेदवार सरोज यादवले आगामी निर्वाचनमा एमाले र जसपा तालमेलका उम्मेदवारहरुको जित निश्चित भइसकेको बताउनुभयो । मधेस प्रदेश सभाका सभामुखसमेत रहनुभएका यादवले यसपटक आफू निर्वाचित बनेपछि मधेस प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गर्नुभयो ।

नेकपा एमाले र जसपाका कार्यकर्तासहित उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट तथा चुनावी घरदैलो गरेका हुन । घरदैलोको क्रममा भेटिएका सर्वसाधारण मतदाताले दुबै उम्मेदवारहरुलाई फूलगुच्छाले स्वागत गरेका थिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र जसपाका उम्मेदवारले क्षेत्र नम्बर १ को प्रदेश (२) का पालिकाहरुमा मंगलवारबाट चुनावी घरदैलो कार्यक्रम सुरु गरेका हुन ।

प्रदेश (क) मा भन्दा तुलनात्मक रुपमा केही कमजोर मानिएको एमाले जसपासंगको चुनावी तालमेलपछि उक्त क्षेत्रमा पनि निक्कै सुदृढ बनेको छ । सो क्षेत्रमा सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका रहेका छन । दुबै पालिका जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र पनि मानिन्छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनको तुलनामा एमालेको प्रभाव पनि वृद्धि हुदै आएको छ ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेशका उमाकान्त चौधरीसंग करिव ५ हजार मतले पछि पर्नुभएका एमाले उम्मेदवार मैनालीले जसपासंगको तालमेलपछि चौधरीलाई ठूलो मतान्तरमा पछि पार्ने देखिएको छ ।

घरदैलो कार्यक्रममा सहभागी जसपा र एमालेका कार्यकर्ताहरुले प्रदेश सभा (२) बाट सत्ता गठबन्धनका उम्मेदवार चौधरीको भन्दा मैनाली र यादवलाई करिव १० हजार बढी मत प्राप्त हुने बताएका छन ।

जसपा र एमालेको तालमेलसंगै कांग्रेस सहमहामन्त्री समेत रहनुभएका खानेपानीमन्त्री चौधरीप्रति सर्वसाधारणमा बढेको असन्तुष्टिले पनि यस पटकको निर्वाचनमा जनमत फेरिने अवस्थामा पुगेको हो । ३ पटकसम्म चुनाव जितेर संघीय सरकारको पटक पटक मन्त्री समेत बन्नुभएका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको भन्दै मतदातामा असन्तुष्टि चुलिएको छ ।

Leave a Reply