
काठमाण्डौ – १९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १÷१ गोल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् ।नेपाल र बङ्गलादेशले यसअघिका दुवै खेल हारिसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो । यस्तै बङ्गलादेश पहिलो खेलमा जापानसँग ८–० र भियतनामसँगको खेलमा ६–१ गोलले पराजित भएको थियो ।
एसियाली खेलकुद : ९० स्वर्णसहित चीनको वर्चस्व कायमै
काठमाण्डौ – चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेको छ ।चीनले अहिलेसम्म ९० स्वर्ण, ५१ रजत र २६ कास्यसहित १ सय ६७ वटा पदक जितेको छ । दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत र ३९ कास्यसहित ८६ पदक जितेर दोस्रो स्थानमा छ । जापान १८ स्वर्ण, ३० रजत र ३० कास्यसहित ७८ पदक जितेर तेस्रो स्थानमा छ ।उज्बेकिस्तान तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तानले ६ स्वर्ण, १० रजत र १५ कास्कसहित ३१ पदक जितेको छ । भारत ६ स्वर्ण, ८ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी थाइल्यान्ड पदक तालिकाको छैटौँ स्थानमा छ । उसले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित १८ पदक जितेको छ ।हङकङ तालिकाको सातौँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित ३२ पदक जितेको छ । चाइनिज ताइपेई ४ स्वर्ण, ४ रजत र ६ कास्यसहित १४ पदक जितेर तालिकाको आठौँ स्थानमा छ ।पदक तालिकाको नवौँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, ९ रजत र १० कास्यसहित२२ पदक जितेको छ । उत्तर कोरिया ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक जितेर दशौँ स्थानमा छ । नेपालले भने कुनै पनि पदक जितेको छैन ।प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ’हर्ट टु हर्ट एट फ्युचर’ अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । शनिवारदेखि औपचारिक रूपमा शुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ ।