पुष्पराज खतिवडा

मनहर्वा,जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.२ मा रहेको साना किसान कृषि सहकारी संस्थाको प्रथम अघिवेशन सहितको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार प्रसौनी बजारमा भएको साधारणसभाको प्रदेशसभा सदस्य मधेस प्रदेशका पूर्वभौतिक योजना तथा निर्माण पूर्वमन्त्री जीतेन्द्र सोनलले उद्धाटन गर्नुभएको थियो ।प्रमुख अतिथि समेत रहनुभएका पूर्वमन्त्री सोनलले सहकारीले समाज रुपान्तरणका लागि काम गर्दै आएको बताउनुभयो । समाजका कतिपय विकृति अझै जीवित रहेको सन्दर्भ केलाउँदै उहाँले सबैखाले रुपान्तरण आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य, शिक्षा, जनचेतनाको विकासपछि मात्रै नागरिकको आर्थिक रुपान्तरण संभव हुने पूर्वमन्त्री सोनलको भनाइ थियो ।उहाँले भन्नुभयो ‘महिलाको जागरण, महिलाको व्यवस्थापन र महिलाको संगठन नै मजबुद हुनुपर्छ अनि मात्रै सबैखाले जागरणले काम गर्छ ।’ सहकारीले सामाजिक जागरणमा समेत ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।यस्तै कार्यक्रममा प्रसौनी गाउँपालिका पूर्वअध्यक्ष भोलाप्रसाद गुप्ताले सहकारीले समुदायको हितलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । समुदायको हितमा काम गरेर प्राप्त उपलब्धी दिगो हुने उहाँको पनि भनाइ थियो । प्रसौनी गाउँपालिकको प्रसंग निकाल्दै गुप्ताले स्थानीय सरकार ठिक ढंगले नहिँडेको बताउँनुभयो ।स्थानीय सरकारको गतिविधि जनताले नियाल्नु पर्ने भन्दै उहाँले ठिक बाटोमा हिडाउन खबरदारी पनि गर्नुपर्ने बताउनुभयो । पूर्वअध्यक्ष गुप्ताले पालिकाले आफुनो नेतृत्वको पूर्ववर्ति सरकारले नियूक्त गरेका कर्मचारीलाई राजनीतिक प्रतिशोध साँधेर छानिछानी हटाएको प्रति गुनासो व्यक्त गर्नुभयो ।साना किसान कृषि सहकारी संस्था प्रसौनीले असाल कारोबार गर्ने २० जनालाई पुरस्कार र ३ जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । यस्तै संस्थाको स्थापनामा महत्वूर्ण भुमिका खेलेको भन्दै साना किसान कृषि संघ लिमिटेड बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्य प्रवन्धक पुष्पराज खतिवडालाई समेत दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मानित हुने सबैलाई संस्थाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं सभासद सोनलले सम्मान गर्नुभएको हो ।कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, उपाध्यक्ष नयनकला खड्का, सदस्यहरु विन्दा सिंह, जयकिसुन चौधरी, प्रसौनी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गीता साह, स्थानीय समाजसेवी, जनप्रतिनिधि एवं बुद्धिजिवीहरुको सहभागीता थियो ।सभाले अध्यक्ष संगिता आचार्यको संस्थागत प्रतिवेदन, प्रबन्धक विकास यादवको प्रगति एवं आगामी बर्षको बजेट तथा कार्यक्रम सुझाव सहित पारित गरेको छ ।संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशनबाट आगामी ४ वर्षका लागि रुना देवी कलवारको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा आसादेवी गुप्ता, सचिवमा संगिता आचार्य, कोषाध्यक्षमा हिरामती देवी यादव र सदस्यहरुमा लक्ष्मी देवी साह, लालमुनी देवी र हिरामती देवी कानुलाई चयन गरेको संस्थाले जनाएको छ ।यसैगरी ममता देवी कानुको संयोजकत्वमा रंजिताकुमारी चौहान र सन्जु कुशवाहा रहने गरी ३ सदस्य आन्तरिक लेखा सुपरिवेक्षण समिति समेत गठन भएको संस्थाकी सहायक प्रबन्धक देवकी न्यौपानेले बताउनुभयो ।कार्यक्रम संस्थाका सल्लाहकार समितिका संयोजक निप्पुकुमार गुप्ताको संचालन एवं अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।



















