डुमरवाना,सिमरा औराहका जुनतारा युवा समुहले दुधौरा नदीघाटको सरसफाइ गरेको छ । घाटमा लास जलायर बाँकी रहेको दाउराले नदी दुर्गन्धित बनाएपछि युवा समुहले नदीमा सरसफाइ अभियान चलाएको हो ।
दुधौरा नदीमा लास जलायर बाँकी रहेका दाउरा र मुडाहरुलाई संकलन गरेर युवा समुहले अर्को लास जलाउनको लागि प्रयोगमा ल्याउने बताएको छ । समुहका विनोद सापकोटाले नदीमा जथाभाबी फ्याकिएका दाउरा भण्डार गरेर राखिएको र लास जलाउने व्यवस्था गरिएको छ । लास जलाउने प्रयोजनको लागि सामुदायिक तथा साझेदारी वन समुहले एक टेलर टेक्टर दाउरा निशुल्क प्रदान गर्दै आएको भएपनि अबदेखि लास जलाएर बाँकी रहेको डढेको दाउरा र मुडाको प्रयोग गरेर लास जलाउने व्यवस्था मिलाइएको सापकोटाले बताउनुभयो । लास जलाएर बाँकी दाउरा अर्को लास जलाउने कार्यमा प्रयोग गर्न हुदैन भन्ने धार्मिक र परंम्परावादी सोचलाई बदल्न र सास्कृतिक रुपान्त्रण गर्न आफुहरु लागिपरेको सापकोटाले जानकारी दिनुभयो ।