राज कुमार यादव
मौलापुर,गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै सोमवार गौरमा प्रदर्शन भएको छ ।२७ जनाको ज्यान जाने गरी १६ वर्षअघि भएको गौर हत्याकाण्डका दोषिमाथि कारबाहीको माग गर्दै आमजनता पार्टीका कार्यकर्ता र पीडित परिवारका सदस्यहरुले प्रदर्शन गरेका हुन ।प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानव अधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन’, ‘जंगली राज चाहिँदैन’ लगायतका नारा लगाएका छन् ।२०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइस मिलमा आयोजना गरेको कार्यक्रमको बेला झडप भएको थियो ।प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत सहभागिता थियो ।फोरमका कार्यकर्ताहरुले बांँसको फट्टा, ढुंगा, इटा, धारिलो हतियार तथा गोली प्रहार गर्दा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने ५० जनाभन्दा बढी घाइते भएका थिए ।केही दिनअघि पीडित परिवारको तर्फबाट दोषिमाथि कारबाहीको लागि सर्बोच्च अदालतमा परमादेशको माग सहितको निवेदन दर्ता गरिएको थियो ।दोषिलाई कारबाही गर्ने प्रकृयाअघि नबढे साउन २ देखि १२ गतेसम्म रौतहट जिल्लाका पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते मृतकका परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल रयाली निकाल्ने, साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी आमजनता पार्टीले दिएको छ ।



















