रौतहट,रौतहटको चन्द्रपुर–गौर सडकखण्डको जयनगर नजिक जन्ती गएर फर्किदै गरेको स्कारपिओ जीप दुर्घटना हुँदा मंगलबार ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेका मध्ये चारजनाको घटनास्थलमा नै र २ जनाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटना हुँदा गाड़ीभित्र रहेका ९ जना मध्ये ६ जनाको मृत्यु भएको हो । तीन जना घाइते छन । मृतक सबै रौतहटको गढीमाइ नगरपालिकाका वडा नम्बर ३ का बासिन्दा हुन ।
उनीहरु रौतहटको गढीमाई नपा पर्सागम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया टोलमा जन्ती गएर फर्किदै थिए । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा सडक छेउको बिजुलीको पोलमा जीप ठोक्किएपछि १६ बर्षीय सेख नौसाद, २२ बर्षीय सेख सैनुल्लाह, ५५ बर्षीय मारूफ मिया अंसारी र २५ बर्षीय सेख छोटु भन्ने अफ्ताव, शेख असरद र शेख अब्लेसको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जनाउनुभएको छ । जीप सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको डिएसपी भण्डारीले जानकारी दिनुभयो ।
घाइतेमध्ये शेख अजिबुल्लाहको नेशनल मेडिकल कलेज वीरगन्ज र शेख अलफाज र शेख अमानतको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।