सप्तरी, १ मंसिर। चिनियाँ दूतावासले सप्तरीको बलान बिहुल गाउँपालिकामा शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न सामग्री सहयोग गरेको छ।

दूतावासको ‘भाइबरेन्ट भिलेज’ कार्यक्रमअन्तर्गत विद्यालय, बर्थिङ सेन्टर तथा वडा कार्यालयलाई लक्षित गरी शैक्षिक र स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराइएको हो।

चिनियाँ दूतावासका राजनीतिक तथा प्रेस विभाग प्रमुख युकियान चेङ (प्रकाश) को उपस्थितिमा मंगलबार आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रमअन्तर्गत गाउँपालिका–६ सेहरा रौतहटस्थित जागेश्वर गहराई जनता माध्यमिक विद्यालयलाई ११० सेट बेन्चडेस्क, १ हजार १०० थान विद्यालय झोला, २ हजार २०० थान कापी तथा डटपेन, इरेजर र पेन्सिललगायत सामग्री प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भोला यादवले जानकारी दिए।

विद्यालयलाई थप एउटा वासिङ मेसिनसमेत उपलब्ध गराइएको छ। त्यसैगरी, गाउँपालिकाभित्रका बर्थिङ सेन्टरका लागि १२ थान एयर कन्डिसनर (एसी) सहयोग गरिएको छ।

गाउँपालिकाका विभिन्न वडामा शुद्ध खानेपानीको पहुँच विस्तार गर्न वडा कार्यालयमार्फत पानी शुद्धीकरण प्लान्टसमेत हस्तान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको संयोजनमा आयोजित कार्यक्रममा मधेशी आयोगका पूर्वअध्यक्ष विजय दत्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

चिनियाँ दूतावासको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीको उपलब्धता सहज बनाउनुका साथै बर्थिङ सेन्टरमा सेवा लिन आउने गर्भवती तथा सुत्केरी महिलालाई सुविधायुक्त वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave a Reply