काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।

कार्कीले गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। त्यसपछि अदालतले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको थियो। तर सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ स्थगित भएको थियो।

तिहार र छठको बिदापछि मंगलबारदेखि अदालत नियमित सञ्चालनमा आएपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि नयाँ पेसी तोकेको हो। कार्कीको रिटमाथि एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गरी प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको थियो।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

अब बुधबार हुने प्रारम्भिक सुनुवाइले उनको रिटमाथिको आगामी न्यायिक प्रक्रियाको दिशा तय गर्नेछ।

Leave a Reply