निजगढ,निजगढ नगरपालिकाको रतनपुर, जीतपुरसिमरा उपमहानगरपालिकाको टाँगियाबस्ति, अमलेखगंजको चकरी लगायतका बाराका विभिन्न स्थानमा देखिएको नेपाल टेलिकमको मोबाइल सिम नेटवर्कको समस्या हल गर्न सञ्चार तथा सूचना प्राविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसंग आग्रह गरिएको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहितको प्रतिनिधि मण्डलले निजगढ नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ को रतनपुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्ती, वडा नम्बर २२ को चकरीलगायत बारा जिल्लाका विभिन्न स्थानमा मोबाइल नेटवर्कको समस्या रहेकोले भरपर्दो टावरको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

बारा जिल्लाको चुरे र जंगल आसपासका क्षेत्रमा टेलिकमको नेटवर्कले राम्रोे काम नगर्नेभएकोले सञ्चार मन्त्रीसंग समास्या समाधानको लागि टोलीले आग्रह गरेको प्रतिनिधि मण्डलमा सहभागी एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।जवाफमा मन्त्री गुरुङले छिटै नै समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले एनटिसीले देशका विभिन्न स्थानमा ४ सय वटा नयाँ टावर निर्माणको लागि टेण्डर प्रक्रिया शुरु गरेको बताउदै सोही क्रममा बारा जिल्लाका विभिन्न स्थानमा पनि टावर निर्माण गरिने र त्यसपछि समस्याको समाधान हुनेसमेत जानकारी दिएको मन्त्री गुरुङ्गको भनाई उद्धित गर्दै पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधि मण्डलमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सचिव मनोज पौडेल, टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा, एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेल लगायतको सहभागिता रहेको थियो ।
एनटिसी नेटवर्कको समस्या बेहोर्दै आएका यस क्षेत्रका अधिकांश बासिन्दाले एनसेल र अन्य प्राइभेट कम्पनीको सिम प्रयोग गर्दैआएका छन भने एनटिसी प्रयोगकर्ताहरुले रुखमा चडेर मोबाइल चलाउनु पर्ने बाध्यता रहेको छ ।

 

Leave a Reply