मुगु जिल्ला । राष्ट्रिय सडक सञ्जालमा जोडिएको १३ वर्षपछि मात्र ताल्चा–गमगढी सडक कालोपत्रेका लागि बजेट सुनिश्चित भएको छ। कर्णाली प्रदेश सरकार ले उक्त सडक स्तरोन्नतिका लागि १६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको हो।
लामो समयदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको ताल्चा–गमगढी सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य बन्दै आएको थियो। स्थानीयवासीले पटक–पटक कालोपत्रे गर्न माग गर्दै आए पनि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन।
प्रदेश सरकारको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत अब उक्त सडक कालोपत्रे प्रक्रिया अघि बढ्ने जनाइएको छ। सडक कालोपत्रे भएपछि सदरमुकाम गमगढीसँग हवाई र स्थलमार्गको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय सरोकारवालाले बजेट सुनिश्चित हुनु सकारात्मक भए पनि काम समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। निर्माण कार्य प्रभावकारी रूपमा अघि बढे मुगुका नागरिकले सुरक्षित र सहज यातायात सेवा पाउने विश्वास गरिएको छ।

















