नेपाल भूकम्पीय दृष्टिकोणले संधै उच्च जोखिममा रहेको कुरा त भूगोलविदहरुले बताउदै आइरहेका छन् । त्यसो त पछिल्ला समयमा नेपालमा गएका ठूला ठूला भूकम्पले पनि यिनै कुराहरुको पुष्टि गर्दछ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पपछि पनि धेरै साना भूकम्पहरु गइरहेका छन् । गत कात्तिकमा मात्रै जाजरकोटमा गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेकै हो ।त्यसैले पनि नेपालमा भूकम्प जहाँ, जहिले पनि र जुनसुकै अवस्थामा जान सक्छ यसका लागि त सचेतना अनि पूर्व तयारी आवश्यक छ । मंगलवार हरेक वर्ष जसरी यो वर्ष पनि भूकम्प सुरक्षा दिवस मनाइएको छ ।सरकारी निकायबाट मंगलवार देशभरी नै यो दिवस मनाइएको भएपनि यो औपचारिकतामा मात्रै सीमित छ । ०७२ सालको भूकम्पबाट पनि धेरै कुरा नेपालीहरुले नसिके कुरा हालै जाजरकोटमा गएको भूकम्पले पनि स्पष्ट पारिदिएको छ ।सुरक्षा दिवस मनाउनु नै हुन्न पनि भन्न खोजिएको होइन तर यो दिवससंगै भूकम्पबाट जोगिनका लागि पूर्व तयारी भने नेपालीहरुले संधै गरिहनुपर्दछ । झन् पछिल्ला दिनमा बढ्दै गइरहेको जनघनत्वका कारण पनि भूकम्पको जोखिम यसै बढेको देखिन्छ । अतः भूकम्प सुरक्षा दिवस मनाइ रहदा यसबाट जोगिने उपाय मात्रै होइन पूर्व तयारीका विषयमा नेपालीहरु संधै चनाखो भइरहनुपर्दछ ।


















