कलैया,मंसिर ४ मा भएको संसदीय निर्वाचनमा मधेस प्रदेशमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी बनेको छ ।
मधेस प्रदेशका ३२ प्रतिनिधि सभा सदस्य र ६४ प्रदेश सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले दुबैतर्फ सबैभन्दा धेरै सिट जितेको हो ।
प्रतिनिधि सभामा ३२ मध्ये एमालेले ९ सिटमा जित हात पारेको छ । २०७४ को चुनावमा प्रतिनिधि सभामा एमालेले मधेसबाट दुई सिट मात्र जितेको थियो ।
यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभातर्फ ७ सिटमा जित हात पारेको छ । जनता समाजवादी पार्टीले ६ सिटमा जित निकालेको छ भने लोकतान्त्रिक समाजवादीले ३ सिट जितेको छ । मधेशमा ३ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एक ठाउँमा जनमत पार्टीले जित हात पारेको छ ।
प्रदेश सभामा पनि एमालेले प्रत्यक्षतर्फका ६४ मध्ये १५ सिटमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १३ सिट जितेको छ ।
समानुपातिकतर्फ भने अहिलेसम्मको मतगणनामा मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले ३ लाख ७२ हजार ७ सय ३४ मत पाएको छ भने एमालेले ३ लाख २३ हजार ४२ मत पाएको छ ।
प्रदेश सभा समानुपातिकतर्फ पनि कांग्रेसको अग्रता कायम छ । कांग्रेसले अहिलेसम्म ३ लाख ५९ हजार ३ सय २८ मत पाएको छ भने उसलाई पछ्याइरहेको एमालेले ३ लाख २२ हजार ८ सय ३४ मत पाएको छ ।
समानुपातिकमा केही हजार मतले एमाले कांग्रेसभन्दा केही पछि रहे पनि प्रत्यक्षतर्फ उसले दुबैतर्फ २÷२ सिट बढी जितेकाले समग्रमा यो प्रदेशबाट सबैभन्दा धेरै सांसद एमालेका हुने भएका छन् ।