काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। जिम्मेवारी सम्हाल्न नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

भारतको विदेश मन्त्रालयले असोज अन्तिम साता दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल भ्रमणमा आउनुअघि नै दलेला काठमाडौं आइपुगेका हुन्।

दलेला यसअघि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। सन् २०२५ देखि उक्त जिम्मेवारी सम्हालिरहेका उनले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष सेवा गरेका थिए।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्ड र भुटानलगायतका देशमा कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। उनले भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा समेत काम गरेका थिए।

नेपाल र भुटानसँगको सम्बन्धसम्बन्धी विषयमा भारतको विदेश मन्त्रालयमा काम गरेको अनुभवसमेत दलेलासँग छ। व्यापार, आर्थिक नीति तथा बहुपक्षीय सम्बन्धका क्षेत्रमा पनि उनले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

Leave a Reply