हरिवन, १२ भदौँ– मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदमहरु र अगामी दिनमा प्रदेश सरकारलाई चाल्नु पर्ने कदम बारे सरोकारबालाहरुसंग सृुझाव लिन सर्लाहीको हरिवानमा बिहिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य कुरा सोच्ने बेला अहिले नरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकमकासाथै अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिहरुले सदुपयोग गर्न नसकेको गुनासो समेत गर्नुभयो ।
प्रदेश सरकारले जिल्ला प्रशासन, अस्पताल लगायतलाई रकम उपलब्ध गराए पनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले हामीले गर्न सक्ने र हाम्रो क्षमताले भ्याए सम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो । जनअपेक्षा अनुरुप आठ वटै जिल्लामा पिसिआर संचालनका लागि प्रक्रिया शुरु भई सकेको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘ रौतहटमा जडान प्रक्रिया शुरु भै सकेको छ, बाँकी रहेका जिल्लामासमेत १५ दिन भित्र पिसिआर मेसिन संचालनमा आउने छ ।’ उहाँले हालै जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले स्वास्थ्य सामग्रीको कुनै आभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं विज्ञ समूहका सदस्य डा। सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, गौर, मलंगवा र हरिवनका मेयरहरु, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु गौर र मलंगवा अस्पतालका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको वर्तमान अवस्था र अगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरु बारे आ–आफनो धारणा राख्नुभएको थियो ।