दुष्यन्त चौधरी

कलैया , ११ फागुन । बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री ज्वाला शाहले फतेपुरमा व्यापक घरदैलो अभियान सञ्चालन गरेका छन् । अभियानका क्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिले क्षेत्रको चुनावी वातावरण थप तातिएको छ । फतेपुर बजारबाट सुरु भएको कार्यक्रम शान्ति टोल, सिम्री टोल, राय टोलसहित आसपासका बस्तीमा पुगेर सम्पन्न भएको थियो । शाहको स्वागतमा समर्थकहरूले “सूर्य छाप जिन्दाबाद” र “ज्वाला शाह जिन्दाबाद” जस्ता नाराहरू लगाउँदै माहोललाई उत्साहपूर्ण बनाएका थिए।
घरदैलोका क्रममा उम्मेदवार शाहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, सामाजिक सुरक्षा भत्ता र स्थानीय पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याए। उनले क्षेत्रको अधुरा योजना पूरा गर्ने र नयाँ विकास परियोजना अघि बढाउने योजना पनि सुनाए।
स्थानीय बासिन्दाहरूले एमाले नेतृत्वमा सामाजिक सुरक्षाका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता आवश्यक रहेको धारणा राखे। महिला समूहका प्रतिनिधिहरूले शाहलाई “सधैं जनताको सुख–दुःखमा साथ दिने नेता” भन्दै समर्थन जनाएका थिए।
निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्र नं. ३ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। फतेपुरको यो घरदैलो कार्यक्रमलाई शाह पक्षले आफ्नो पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा लिएको छ।


















