हेटौंडा – मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ५ र ७ मा एकै दिन माघ १ गते २ वटा बालविवाह रोकिएको छ । बालहेल्पलाइनको पहलमा बडा कार्यालय र हात्तीसुडे प्रहरी चौकीको सहयोगमा वालविवाह रोकिएको हो । वकैयाको वडा नम्बर ७ मा १७ वषिय बालक र १६ वर्षिय बालिकाको विवाह रोकिएको हो । २० वर्ष उमेर नपुगि बिहे नगर्ने र पढाइलाइ पुन निरन्तरता दिने सहयोगको लागि आवश्यक परेमा बडा कार्यालय तयार रहेको वडा न ७ का वार्ड अध्यक्ष राम काजी लामीछानेले बताउनु भएको छ ।
त्यही दिन बकैयाको वडा नम्बर ५ मा आफ्नै परिवारबाट बालिकाको विवाह गरिदिन माघ २ गतेको दिन तय भएकोमा बालिका स्वयले बालहेल्पलाइनको १०९८ नम्वरमा कल गरि विवाह रोक्न भनि जानकारी गराएकी थिइन । सोहि अनुसार प्रहरी र वडा कार्यालयको समन्वयमा वार्ड कार्यालयबाट बडा अध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोले, हात्तीसुडे प्रहरी चौकीका इन्चार्ज असइ कृष्ण गौतम र बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीको टोली बालिकाको घरमा गइ स्थानीय सरोकारवाला सहित बालविवाह रोकेको हो ।
वालविवाहका कारण पर्ने असर तथा कानुनी ब्यवस्था बारेमा सबै जानकारी गराइएको थियो । बालिकाका बुबाले २० वर्ष नपुगि छोरीको विवाह नगरिदिने र छोरीलाइ पढाइमा निरन्तरता दिने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सहयोगको लागि अनुरोध समेत गर्नुभयो ।
कानुन उलङ्घन गर्नेलाई पनि दण्डगरिने र कानुनले कसैलाइ पनि छुटदिन नसक्ने असइ कृष्ण गौतमले जानकारी गराउनु भयो । दुबै वडाका बालिकाहरुले कक्षा ८ मा पढाइ छाडेको पुन यसै वर्ष जाँच दिन तथा आवश्यक सहयोगको लागि विद्यालयसँग समन्वय भइरहेको बालहेल्पलाइनले जनाएको छ । हाल दुबै बालिकाहरुलाइ आवश्यक परामर्शको लागि बालहेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ ।