चितवन । चितवन प्रहरीले अवैध रूपमा भण्डारण गरी राखिएको विभिन्न प्रकारका पटाकासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिका नगरपालिका–६ हरियार टोल पदमपुरमा डेरा गरी बस्ने भारतको मतियारी लक्ष्मीपुर लौखान–१६ का ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरेमा डेरा गरी बस्ने भारतको मतियारी पटझिलवा–८ का २९ वर्षीय राज जयसवाल रहेका छन्।
प्रहरीका अनुसार तेलीको कोठाबाट करिब २ लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका बरामद गरिएको छ। उनलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले पक्राउ गरेको हो।
त्यस्तै, जयसवालको कोठाबाट करिब ८६ हजार रुपैयाँ बराबरका पटाका, १५ हजार भारतीय रुपैयाँ र १ लाख ४८ हजार ३०० नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार साँझ पक्राउ गरिएको हो।
दुवै जनाको कोठामा प्रहरीले तलासी गर्दा पटाका फेला पारेपछि नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















