काठमाण्डौ – गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला गरिरहेको इजरायलले आज फेरि अर्को ठूलो आक्रमण गरिरहेको छ । सोमवार इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा धेरैको ज्यान गएको एफपीले जनाएको छ । तर केही सञ्चारमाध्यमले भने ६७ जनाको मात्रै ज्यान गएको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले साना बालबालिकासहित एक सय जना प्यालेस्टाइनीको हत्या भएको र सयौँ घाइते भएको बताएको छ । रातको समयमा भएको आक्रमणको थप विवरण सङ्कलन भइरहेको छ। राफाहमा १ लाख जना प्यालेस्टाइनीले शरण लिइरहेका छन् । इजरायलले भने गएरातिको आक्रमणबाट २ जना बन्धकलाई रिहा गर्न सफल भएको जनाएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा २ सय ४० जना बन्धक बनाएकोमा अझै एक सय जना भन्दा धेरै हमासकै कब्जामा छन् । इजरायलले गाजासहित प्यालेस्टाइनी सहरहरुमा गरिरहेको आक्रमणमा अहिलेसम्म २८ हजार ४ सय जना भन्दा धेरै प्यालेस्टाइनीको ज्यान गइसकेको छ ।
यसैबीच नेदरल्यान्ड्सको एक अदालतले इजरायललाई एफ–३५ लडाकु विमानको पाटपूर्जा बेच्न रोक लगाएको छ । इजरायलले गाजा आक्रमणमा प्रयोग गरिरहेको यो विमानका कारण थप मानवीय क्षति हुन सक्ने भन्दै अदालतले पाटपूर्जा बेच्न रोक लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here