पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तर्गत सोमवारको खेल वीरगञ्ज यूनाईटेड पर्साले जितेको छ । हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी.चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछि वीरगञ्जले टाईब्रेकरबाट नतिजा आफ्नो पक्षमा पारेको हो । टाईब्रेकरमा वीरगञ्जको तर्फबाट ५ र हनामी चितवनले ४ गोल गरेको थियो ।

पहिलो हाफमा हनामी र यूनाईटेडले बाराबरी दुई÷दुई गोल गरे । खेलको २०औं मिनटमा हनामीका लागि जर्सी नम्बर ११ का रोशन क्षेत्रीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै ३४औं मिनटका वीरगञ्जं यूनाईडका खेलाडी अमर डंगोलले गोल फर्काए ।एकएक गोल गरेका दुबै टिमका खेलाडी नतिजा आफ्नो पक्षमा पार्न हौसिएका बेला पुनः हनामी चितवनका तर्फबाट ३८औं मिनटमा गणेश हमालले टिमका लागि दोस्रो गोल गरे । आक्रमक देखिएको हनामीले समालिएर खेल्न नसक्दा ४३औं मिनटमा वीरगञ्ज यूनाईटेडको दोस्रो गोल खान पुग्यो । यूनाईडका लागि उदित चौधरीले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । योसँगै पुनः खेल बराबरीमा गयो ।

खेलको पहिलो हाफमा दुई गोलको बराबरी खेलेका हनामी र यूनाइटेड दोस्रो हाफमा रक्षात्मक बनेका थिए । दुई पक्षले दोस्रो हाफ गोल रहित बराबरी खेलेपछि अन्तत नतिजाका लागि खेल ट्राईबेरमा धकेलिएको थियो ।दुबै टिमबाट ५-५ बल प्रहारको मौका पाएपनि हनामी चितवनका रोशन क्षेत्रीले गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बाहिर गएको थियो । टाईब्रेकरमा हनामीका लागि सन्दीप सेन्चुरी, विकेश मगर, सुरज क्षेत्री र गणेश हमालले ४ गोल गरेका थिए ।यसैगरी वीरगञ्ज यूनाईटेडका लागि श्याम चौधरी, विपिन मगर, रन्जय चौधरी, विशाल खड्का र सागर चौधरीले एक-एक गोल गर्दै जीत आफ्नो फोल्टामा पार्न सफल भए ।जितसँगै सेमिफाईनल प्रवेश गरेको वीरगञ्ज यूनाईटेडले आयोजक मौवादेवी यूवा क्लबसँगको भेट पक्का गरेको छ । मौवादेवी गत शनिवारको उद्धाटन खेलमा एन.वाई.सी. हरिवन सर्लाहीलाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ । यी दुई टिमबीचको पहिलो सेमीफाइनल खेल आगामी १७ गते हुने छ ।

सोमवारको खेलमा हनामी बि.एफ.सी.का खेलाडी रोशन क्षेत्री मेन अफ दि म्याच घोषित भए । उनले नगद २ हजार ५ सय पुरस्कार प्राप्त गरे । उनलाई स्थानीय सर्वसुलभ साकोसका अध्यक्ष विमलराज भारतीले पुरस्कार प्रदान गरेका थिए ।
मंगलवारको खेल बागमती युवा क्लब सर्लाही र नवदुर्गा युवा क्लब सिमरा बाराबीच हुने छ । सिमराले स्थानीयसँगै विदेशी खेलाडी मैदान उतार्ने तयारी गरेको प्रतियोगिता आयोजक मौवादेवी युवा क्लब मनहर्वाका सल्लाहकार समिति संयोजक बसन्त खतिवडाले जानकारी दिनुभयो ।आगामी २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद दुईलाख र उपविजेता टिमले एकलाख रुपैंया पुरस्कार पाउने छन् । प्रतियोगिताको गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्धाटन गर्नुभएको थियो ।

Leave a Reply