वीरगञ्ज,बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत रहेका उद्योगहरूले न्यून गुणस्तरको सामग्री उत्पादन गरेर उपभोक्ताहरूको स्वास्थ्यसँग खेलबाड गरेको खुलासा भएको छ ।कम गुणस्तरको सामग्री उत्पादन गरेको अभियोगमाखाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस क्षेत्रका उद्योगहरूविरुद्ध १९ वटा मुद्दा दर्ता भएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले अनुगमनका क्रममा कोरिडोरमा रहेका विभिन्न उद्योगहरूले उत्पादन गरेका वस्तुहरूमा गुणस्तरमा कमी रहेको पाएपछि कानुनी कारबाहीको लागि मुद्दा दर्ता गरेको हो ।

कार्यालयले यसबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ। कार्यालयका अनुसार सबैभन्दा बढी मुद्दा जीतपुरसिमरा वडा नम्बर ३ स्थित नन्दन घ्यु एण्ड आयल प्रालि विरुद्ध दर्ता भएको छ। यस उद्योगमा उत्पादन गरिएको घ्यु न्यून गुणस्तरको पाइएपछि पाँच वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा र एक वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो । त्यस्तै, उक्त उद्योगले न्यून गुणस्तरको प्रशोधित पामोलिन तेल पनि उत्पादन गरेको आरोप पनि छ ।

वीरगञ्जका चार वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगहरू विरुद्ध पनि मुद्दा दर्ता भएको छ । यी उद्योगहरूबाट उत्पादित वस्तुहरूको लेबलमा गडबडी गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वीरगञ्ज पियोर ड्रिर्किग वाटर, निर्जल जल प्रालि, गंगोत्री पियोर ड्रिँकिँग वाटर, र वीरगञ्ज फुड इन्डस्ट्रिज प्रालि विरुद्ध मुद्दा दायर गरेको छ ।
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूले उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका वस्तुहरू उत्पादन गर्दै आएको पाइएपछि आवश्यक कारबाहीको लागि मुद्दा दर्ता गरिएको वीरगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहले बताउनुभएको छ । सिंहले यस्ता उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउन थप प्रयास भइरहेको पनि बताउनुभएको छ ।

Leave a Reply