सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेख्नुभएको छ ।काफ्लेको सरुवा मापदण्ड विपरित रहेको भन्दै नगर प्रमुख पौडेलले पत्रमार्फत प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण गराउदै काफ्लेलाई यथावत काम गर्ने व्यवस्था मिलाउन कार्यालयसंग माग गर्नुभएको हो ।
पौडेलले प्रधानमन्त्रीको कार्यालयलाई लेखेको पत्रमा २०८१ असार २५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिृकतको सरुवा गर्ने मापदण्ड निर्माण गरिएको भएपनि उक्त मापदण्ड विपरित काफ्लेको सरुवा गरिएको उल्लेख गरिएको छ । कर्मचारी सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१ ले प्रत्येक दुई वर्षमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने नीति लिएको भएपनि त्यसविपरित काफलेको सरुवा गरिएकाले बदर गर्न पत्रमार्फत माग गरिएको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यसअघि निर्माण भएका सम्पूर्ण मापदण्ड खारेज गर्दै असार २५ गते नयाँ मापदण्ड निर्माण गरेको थियो । उक्त मापदण्डको दफा १२ मा प्रमुख प्रशासकीय अधिकृतको कार्य अवधी कम्तीमा दुई वर्षको हुने उल्लेख छ ।तर सोही मापदण्डको दफा १३ को (ख) मा प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा कार्यरत रहि रहने वातावरण नभएमा अवधी नपुग्दै सरुवा र कामकाजमा खटाउन सक्ने उल्लेख छ । मन्त्रालयले दफा १३ (ख) बमोजिम काफ्लेको सरुवा गरेको बताइएको छ ।यसअघि १०औं नगरसभामा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भूमिकाबाट आफूहरु असन्तुष्ट रहेको भन्दै उपमहानगरपालिकाकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित अधिकांश वडाध्यक्ष काफ्लेको सरुवा गर्न माग गर्दै मन्त्रालय पुगेका थिए । उपप्रमुखसहित वडाध्यक्षहरु मन्त्रालय पुगेर सरुवा गरिदिन अनुरोध गरेपछि मन्त्रालयले काफ्लेलाई अतिरिक्त समूहमा सरुवा गर्दै चेतकुमार पोखरेललाई पठाउने निर्णय गरेको थियो ।सरुवा गर्ने आधार र कारण देखिएमा मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (४) बमोजिम रहेको अतिरिक्त समूहमा सरुवा गर्न सक्नेछ ।


















