थिम्पु । भुटानमा गएराति आएको आकस्मिक बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सडक, सिँचाइ प्रणाली तथा पूर्वाधारमा क्षति पुगेको छ भने एउटा जोखिमयुक्त हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।
भुटानको गासा जिल्लास्थित छाचु क्षेत्र बाढीले प्रभावित भएको छ। मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लाको सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ।
बाढीसँगै आएको ढुंगा, माटो तथा अन्य गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ। त्यस्तै, लाया गेओगअन्तर्गत टोङचुद्राक क्षेत्रमा सडकको केही भाग क्षतिग्रस्त भएपछि लाया क्षेत्रको सडक सम्पर्क देशका अन्य भागसँग विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस ९बीबीएस० ले जनाएको छ।
अहिलेसम्म बाढीका कारण मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। रातिको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रमा उद्धार, निगरानी र सुरक्षा व्यवस्थालाई तीव्रता दिएका छन्।
बाढीको मुख्य कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट हुन सक्ने अनुमान गरिएको छ। लाया गेओगको लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा रहेको उक्त हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो।
सिन्ताफु हिमताल मो छू नदीको मुहान क्षेत्रमा पर्ने भएकाले नदीमा अचानक आएको बाढीलाई आधार मानेर हिमताल विस्फोटको आशंका गरिएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन। सम्बन्धित निकायले हिमताल विस्फोट भएको हो वा अन्य कारणले बाढी आएको हो भन्नेबारे अनुसन्धान गरिरहेका छन्।
सम्भावित थप बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ।
ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी र गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी तथा आगन्तुकलाई पनि जोखिम क्षेत्रबाट हटाइएको छ।
यसैगरी, पुनाखाको येबिसा क्षेत्रमा समेत बाढीको पानी पुगेको छ। पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा स्थानान्तरण गरिएको जनाएको छ।

















