कलैया,कलैयास्थित भारत चौकमा शनीवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कम्प्युटर एशोसियसन नेपाल महासंघ बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा भएको सो रक्तदान कार्यक्रम ३० जनाले रगत दान गरेका छन ।

क्यान महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह र संयुक्त रूपमा रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए। सो कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी पर्साले जनाएको छ ।सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले संघ–संस्थाले नियमित रूपमा रक्तदान कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पर्सामा रगतको अभाव रहेकोले रक्तदान कार्यक्रम आयोजना गरिएको क्यान महासंघका अध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका पूर्व उपसभापति पवन ब्याहुत, क्यान महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश शर्मा, बाराका पूर्वअध्यक्ष संजय केशरी, सदस्यहरू सुनैना यादव, सुमित्रा चौधरी, जिल्ला कार्य समितिका पदाधिकारी, भी–नेटका संचालक राजेश पण्डित तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो । कार्यक्रमको संचालन अनिलप्रसाद चौरसियाले गर्नुभएको थियो ।

त्यसैगरी निजामति सेवा दिवसको अवसरमा शनीवार कलैयामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
निजामती सेवा दिवस मूल समारोह समिति बाराको आयोजना र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम भएको हो ।

प्रमुख जिल्ला अधिकारी एवं मूल समारोह समिति बाराका अध्यक्ष प्रकाश पौडेलले रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा २८ जनाले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इञ्चार्ज राजाबाबु गुप्ताले जानकारी दिनुभयो ।उक्त कार्यक्रममा सहायक प्रजिअ छविरमण भट्टराई, श्री रिपुमर्द गण ब्रहमपुरी ब्यारेकका सेनानी अशोककुमार क्षेत्री, निजामती कर्मचारी संगठन बाराका अध्यक्ष सागर साहलगायतको उपस्थिति थियो ।

 

Leave a Reply