कलैया,नक्कली कागजातको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने एक भारतीय दम्पतीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सामान्य बयानमात्र लिएर छोडिएको छ । जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका शिवशंकर सर्राफले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको आदेशमा उनीहरुसंग बयानमात्र लिएर छोडिएको हो ।

भारतीय नागरिक गुप्ता दम्पतिले झुटो विवरणको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको उजुरी परेको र जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ गर्न प्रहरी परिचालन गरेपछि उनीहरु बुधबार जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए ।

भारतीय नागरिक सुनिलकुमार गुप्ता र उनकी पत्नी रंजनाकुमारीले नेपाली नागरिकताको प्रमाणपत्र लिइएको प्रमाण फेला परेपछि उनीहरुमाथि आवश्यक छानबिनको लागि उजुरी परेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी ढकाल र नागरिकता फाँटका खरदार सर्राफको मिलिमतोमा बयानमात्र लिएर उनीहरुलाई छोडिएपछि आशंका उत्पन्न भएको छ ।

नेपालमा अवैध कारोबारसमेत संचालन गर्दै आएका गुप्ताले रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ शिबनगरकी रन्जनासंग विवाह गरेका थिए । उनले पर्सा जिल्ला प्रशासन वीरगन्जबाट नक्कली आमा र बुबा खडा गरि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् ।

गुप्ताको स्थायी घर भारत बिहार राज्यको पूर्वीचम्पारण जिल्ला जिहुली वडा नम्बर ५ हो । भारतमा उनले आधार तथा राशन कार्ड र मतदाता परिचय पत्र समेत बनाएका छन ।

जिल्ला प्रशासन कार्यालय गौरबाट अविवाहित अवस्थामा नेपाली नागरिकताको प्रमाण पत्र लिएकी गुप्ताकी श्रीमति रन्जना देबी भनिने रजनाकुमारी गुप्ताले विवाहपछि भारतीय नागरिकको रुपमा सबै सुविधा लिदै आएकी छिन ।

उनीमाथि पनि दोहोरो नागरिकता लिएको भन्दै हदैसम्म कानुनी कारबाहीको माग गर्दै उजुरी परेको छ । रन्जना पनि सुन र लागूऔषध कारोबारमा संलग्न रहेको समाचार स्रोतले जनाएको छ ।

नेपाली नागरिकता लिएर अवैधधन्दा चलाउदै आएका गुप्ता दम्पतिले १० वर्षयता वीरगन्जमा करोडौं रुपैया बराबरको चलअचल सम्पत्ति आर्जन गरेको छ । उनीहरुले नेपाल भारत खुला सिमाको फाइदा उठाएर अवैध कारोबारमार्फत सम्पति आर्जन गरेको स्थानीयको भनाइ छ ।

Leave a Reply