चितवन । चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) सेवा तीन महिनादेखि बन्द हुँदा चितवनसहित आसपासका जिल्लाका हजारौँ सेवाग्राही समस्यामा परेका छन्। सर्वोच्च अदालतको आदेशपछि गत साउन १० गतेदेखि परीक्षा सञ्चालन हुन नसकेको हो।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार निजी ट्रायल सेन्टरमा सञ्चालन हुँदै आएको परीक्षासम्बन्धी सेवा अदालतको आदेशपछि रोकिएको हो। यसका कारण नयाँ चालक अनुमतिपत्र लिन चाहने तथा पुनःपरीक्षा (रि–ट्रायल) दिनुपर्ने सेवाग्राही प्रभावित भएका छन्।

परीक्षा रोकिँदा रि–ट्रायल दिन प्रतीक्षामा रहेका करिब ८०० सेवाग्राही प्रभावित भएका छन्। त्यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने तथा नियमित परीक्षा दिन आउने गरी करिब दुई हजार सेवाग्राही समस्यामा परेको कार्यालयले जनाएको छ।

सूचना अधिकारी पौडेलका अनुसार सम्बन्धित ट्रायल सेन्टरको ठेक्का रद्द गरी पुनः बोलपत्र प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि परीक्षा सञ्चालनमा अवरोध भएको हो। तर, मन्त्रालयबाट आवश्यक निर्देशन तथा परिपत्र नआएकाले नयाँ बोलपत्र आह्वान गर्न नसकिएको उनले बताए।

‘मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन,’ पौडेलले भने।

परीक्षा सेवा बन्द भए पनि कार्यालयबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी अन्य प्रशासनिक काम, सवारी धनी प्रमाणपत्र तथा रुट परमिटलगायतका सेवा भने सञ्चालन भइरहेका छन्।

यसअघि ट्रायल सेन्टर सञ्चालनमा रहँदा एक पटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने गरेका थिए। परीक्षा सेवा लामो समयदेखि अवरुद्ध हुँदा सेवाग्राहीले अन्य जिल्लामा पुगेर परीक्षा दिनुपर्ने बाध्यता र थप खर्चको समस्या भोग्नुपरेको छ।

Leave a Reply