नरेश गुप्ता
बरियारपुर,बाराको पचरौता नगरपालिका वडा नम्बर ७ पकडियास्थित सिमा नाकाबाट सशस्त्र प्रहरीले चाँदीको गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बिओपी बेनौलीको सशस्त्र प्रहरी नायब निरीक्षक लिलबहादुर ठाडाको कमान्डमा रहेको टोलीले चेकजाँच गर्दा १२ सय ग्राम चाँदीको गहनासहित भारत बिहार मोतिहारी जिल्ला झुनमडवा ग्राम पंचायत वडा नम्बर ३ बडहरवा निवासी वर्ष २८ को शैलेस साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बाहिनी मधेस प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
बरामद गरिएको चाँदीको गहनाको मूल्य १ लाख ४० हजार र १ लाख मूल्य बराबरको मोटरसाइकलसमेत गरी कुल २ लाख ४० हजार बराबर रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा बि आर ०५ एबि १९६६ नम्बरको मोटरसाइकलसमेत बरामद भएको जनाएको छ । चाँदीको गहनासहित पक्राउ परेको भारतीय नागरिकलाई भन्सार बुझाउन आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।