काठमाडौं — लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल माथि ‘डमी बीमित’को नाममा बीमा पोलिसी बिक्री गरेर आर्थिक दुरुपयोग गरेको आरोप सार्वजनिक भएको छ। यस विषयमा नेपाल बीमा प्राधिकरण ले छानबिन गर्ने जनाएको छ।

प्राप्त विवरण अनुसार कम्पनीले वास्तविक व्यक्तिको विवरण प्रयोग गरी डमी नाममा पोलिसी काट्ने गरेको आरोप छ। यसरी तयार गरिएका पोलिसीमार्फत आर्थिक अनियमितता वा सम्पत्ति शुद्धीकरणजस्ता गतिविधि हुनसक्ने आशंका गरिएको छ। तर, यसको वास्तविक उद्देश्य के हो भन्ने विषय प्राधिकरणको छानबिनपछि मात्रै स्पष्ट हुने बताइएको छ।

आर्थिक न्यूजलाई प्राप्त कागजातअनुसार ९९००३४४६८ नम्बरको एक पोलिसी १० लाख रुपैयाँ बराबरको देखिएको छ, जुन सन् २०२३ मा जारी गरिएको भनिएको छ। उक्त पोलिसी धर्मराज भण्डारीको नाममा रहेको उल्लेख छ। तर भण्डारीले आफूले उक्त पोलिसी खरिद नगरेको दाबी गरेका छन्।

भण्डारीका अनुसार, “मैले एलआईसीमा बीमा गरेको छु, तर उक्त नम्बरको पोलिसी मेरो होइन।” उनले आफ्नो व्यक्तिगत विवरण दुरुपयोग गरी डमी पोलिसी बनाइएको आशंका व्यक्त गरेका छन्। “यदि त्यो पोलिसी मेरो भएको भए मलाई नै फाइदा हुन्थ्यो, तर त्यो मेरो होइन,” उनले भने।

यसबीच, नेपालमा जारी हुने बीमा पोलिसीको सिरियल नम्बर सामान्यतया ‘९९’ बाट सुरु नहुने भएकाले उक्त पोलिसीको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ।

यसअघि पनि कम्पनीमाथि बीमितलाई नोक्सानी पुर्‍याउने गतिविधि गरेको आरोप लागेको थियो। २०७८ सालमा बीमितले पोलिसी धितोमा राखेर लिएको कर्जा भुक्तानी गरिसकेपछि पनि कम्पनीले प्रणालीमा अद्यावधिक नगरेको भन्दै विवाद उत्पन्न भएको थियो। उक्त घटनामा अदालतले बीमितको पक्षमा फैसला गर्दै रकम भुक्तानी गर्न कम्पनीलाई आदेश दिएको थियो।

कम्पनीको प्रतिक्रिया

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अनिर्बन दत्तले भने फेक पोलिसी निर्माण गरिएको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार यस विषयमा प्रहरी तथा नेपाल बीमा प्राधिकरण ले यसअघि नै छानबिन गरिसकेको र कम्पनीबाट कुनै अनियमितता नभएको निष्कर्ष निकालेको छ।

प्राधिकरणको धारणा

प्राधिकरणका एक उच्च पदस्थ अधिकारीका अनुसार उक्त विषयमा चैत १६ गते उजुरी परेको छ र आवश्यक छानबिन प्रक्रिया अघि बढाइनेछ। यद्यपि छानबिन कहिले सुरु गर्ने भन्ने निर्णय भने अझै हुन बाँकी रहेको छ।

प्राधिकरणले एलआईसीसहित अन्य बीमा कम्पनीहरूमा नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको बताउँदै विभिन्न कम्प्लायन्स सम्बन्धी विषयहरूमा छुट्टाछुट्टै टोलीले काम गरिरहेको जनाएको छ।

यस घटनाले बीमा क्षेत्रमा पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ भने सम्भावित अनियमितताबारे चाँडो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरोकारवालाहरूले माग गरेका छन्।

Leave a Reply