नरेश गुप्ता
बरियारपुर,स्थानीय तहको चुनावमा कलैया उपमहानगरपालिकामा ५ दलीय गठबन्धनसंगको प्रतिस्पर्धामा नेकपा एमाले एक्लै चुनाव जित्ने रणनीति अपनाउदै अगाडि बढेको देखिएको छ ।
गठबन्धनको सहमति अनुसार कलैया उपमहानगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेसबाट राजेश राय यादव र जसपा नेपालबाट प्रमोद गुप्ताले उपप्रमुख पदमा उम्मेदवारी दिएपछि एमालेले पनि चुनाव जित्ने गरी गतिविधि संचालन गर्दै आएको हो । अघिल्लो निर्वाचनमा पनि राजेश राय यादवसंग झिनोमतान्तरले पराजित बन्नुभएका साह यो वर्ष यादवसंग चुनाव जितेर बदला लिने दाउमा हुनुहुन्छ ।
नेकपा एमालेले बिगतमा कलैया उपमहानगरपालिकाभित्र भएका अनियमितता, भ्रष्टाचार, जथाभावी आफन्त तथा पार्टी कार्यकर्तालाई कर्मचारीको रुपमा नियुक्ति र आर्थिक चलखेल जस्ता मुद्दा बोकेर एमाले कार्यकर्ताहरुले मतदाताको घरघरमा पुग्न थालेका छन । कलैया उपमहानगरपालिकको ५ वर्षसम्म नेतृत्व गर्ने भएका निवर्तमान मेयर राजेश यादव विरुद्ध एमाले कार्यकर्ताले उनको कार्यकालमा भएका अनियमिततालाई सार्वजनिक रुपमा उठाएपछि एमालेका उम्मेदवार विनोद साहप्रति मतदाताको आकर्षण बढेको देखिएको छ ।
कोरोनाका कारण २ वर्षअघि पहिलो पटक घोषणा भएको लकडाउनको बेला नगरपालिकाले सर्वसाधारणलाई राहतमा वितरण गरेको कुहिएको दालको मुद्दा अहिले फेरि चर्चामा आएको छ । मेयर यादबले आफनो गोदामबाट कुहिएको दाल खरिद गरेर वितरण गरेको भन्दै उहाँको चर्को आलोचना हुदै आएको छ । र एमाले कार्यकर्ताहरुले पनि यही कुरालाई अहिले मुख्य चुनावी मुद्दा बनाएका छन ।
त्यसैगरी पार्टी सभापतीसमेत रहनुभएका यादवप्रति नेपाली कांग्रेसका असंतुष्ट कार्यकर्ताहरुको कारणले पनि एमालेका साहको अवस्था बलियो देखिएको छ । गत निर्वाचनमा एक्लै चुनाव जितेको कांग्रेशले यो पटक आफूलाई कमजोर ठानेर नै गठबन्धको सहारा लिएको हो भन्ने धेरैले अनुमान गरेका छन ।
यता ५ दलीय गठबन्धसंग एक्लै प्रतिस्पर्धा गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले चुनावी दौडमा मतदाताहरुलाई रिझाउन कलैयाको वर्तमान अवस्थामा र भौतिक पूर्वाधार विकासमा भएको भ्रष्टाचार, अनियमिततालाई प्रमुख एजेन्डा बनाउदै आएको छ । यादवको नेतृत्वमा कलैया उपमहानगरपालिकाको मुहार ५ वर्षमा परिवर्तन हुन नसकेको तथ्यलाई नेकपा एमालेबाट मेयर पदका प्रत्यासी साहले प्रमुख मुद्दा बनाउनुभएको छ । ‘हामी विगतमा कलैयामा भएका अनियमितताको बारेमा जनतालाई सुसुचित गराउने क्रममा छौं, एमाले उम्मेदवार साहले भन्नुभयो, जनताले सबै कुरा बुझेका छन, अब जनताले कुनै हालतमा पनि अनियमितता र भष्ट्राचार गर्नेलाई मतदान गर्ने छैनन ।’
कलैया उपमहानगरपालिकामा ५ दलीय गठबन्धनसंग नेकपा एमालेको कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।



















