जनकपुरधाम — नेपाली कांग्रेस मधेश प्रदेशमा भीषण आन्तरिक सङ्कटको घेरामा परेको छ। प्रदेश सभापति कृष्णकुमार यादवको कार्यशैलीलाई लिएर नेतादेखि कार्यकर्ता, यहाँसम्म कि पार्टी सांसदहरू समेत चिढिएका छन्। विकास योजना बाँडफाँडमा भएको पक्षपात, सल्लाहविना निर्णय, र पार्टीभित्रको संवादहीनताले कांग्रेसलाई भित्रैबाट झस्काउने खतरा बढेको छ।
सबैभन्दा ठूलो असन्तोष बजेट निर्माण र योजनाको छनोटमा देखिएको छ। सभापति यादवको सिफारिसमा अर्थमन्त्रीले धेरैजसो योजना पार्टीभित्रका केही विशेष नेताहरूका वडामा मात्र केन्द्रित गरेपछि बाँकी नेताहरू र सांसदहरू आक्रोशित भएका छन्। “हामी जनप्रतिनिधि भएर पनि योजना राख्न नपाउने? यो त सभापतिका लागि मात्र कांग्रेस बनेको जस्तो देखिन्छ,” एक सांसदको तीव्र प्रतिक्रिया थियो।
विचौलिया र नेताबीचको साँठगाँठ, ३० प्रतिशतसम्मको ‘डिल’, अनि पारदर्शिता विहीन ढंगमा योजना पास गरिँदा कार्यकर्ताहरू खुलेर विरोधमा उत्रिएका छन्। बाराका जिल्ला सचिव राजेश रौनियारले सामाजिक सञ्जालमै लेखेका छन् — “नेता फेर्नु नै अहिलेको आवश्यकता हो, नत्र कांग्रेसको मधेशमा अब अस्तित्व संकटमा पर्छ।”
नेता यादवमाथि संवाद नगर्ने, गम्भीर मुद्दामा चुप लाग्ने, र कार्यकर्तालाई बेवास्ता गर्ने आरोप समेत थपिँदा अब नेतृत्व परिवर्तनको माग ‘भित्रघात’ नभई ‘अवश्यकीय निर्णय’ जस्तो देखिन थालेको छ।
पार्टी स्रोतहरू भन्छन्, “मधेशको काँग्रेस अब विस्फोटको अन्तिम किनारमा छ। समयमै उपचार नगरे काँग्रेसको आधार जमिनमै भासिन सक्छ।
















