निजगढ,कलैयास्थि रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पका प्रमुख हरिभूषण कुशवाहाको हत्याको विरोधमा आइतवार देशभरिका सामुदायिक क्याम्पसहरुमा पठन पाठन बन्द भएको छ ।नेपाल पब्लिक क्याम्पस संघले हत्याको आइतवार देशभरका सामुदायिक क्याम्पस बन्द आह्वान गरेको हो । संघले क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या भएको घटनाको छानबिनमा दबाब दिन सामुदायिक क्याम्पसमा पठन पाठन बन्द गर्ने निर्णय गरेको थियो ।

संघले एक विज्ञप्ति निकाल्दै दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ता र महासचिव गोविन्दबहादुर कार्कीले संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
त्यसैगरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त पार्ने नियतले भएको सो घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कानुनी दायरामा ल्याउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरि क्याम्पसहरूको पठनपाठन आइतवारका लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच कुशवाहाको हत्यामा संलग्नलाई कारबाहीको दायारामा ल्याउन माग गर्दै आइतवार साँझ कलैयामा स्थानीयले मौनबत्ति जुलुुस प्रदर्शन गरेका छन । जुलुसमा मृतकका आफन्त, स्थानीय अगुवा, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । जुलुसका सहभागीले मृतक कुशवाहाको पक्षमा लेखिएका प्ले कार्ड पनि बोकेका थिए ।बाराको आदर्श कोतवाल ३ बतरास्थित घरबाट मोटरसाइकलमा सदरमुकाम कलैया फर्कने क्रममा क्याम्पस प्रमुख कुशवाहाको गत शुक्रवार अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply