वीरगञ्ज, मङ्सिर २१ यहाँ आयोजना हुने जानकी विवाह महोत्सवको लागि मधेसका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको दुई सय ५१ सदस्य प्रतिनिधिमण्डल उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न शनिवार त्यसतर्फ प्रस्थान गरेको छ ।प्रतिनिधिमण्डलमा विश्वहिन्दूपरिषद् नेपाल, जनकपुरका प्रमुख मजोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।

प्रतिनिधिमण्डल आइतवार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने परिषद्का अध्यक्ष सन्तोष साहले बताउनुभयो । सोमवार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ ।
परम्परागत रुपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा गरगहनासँगै माखन, दहीच्यूरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
जन्तीहरुको स्वागतनिम्ति तयारी शुरु
महोत्तरी,जनकपुरमा हुने विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीहरुको स्वागतमा महोत्तरीका स्थानीय तहहरुले तयारी शुरु गरेका छन ।जनकपुरमा मङ्सिर २१ गते हुने विवाहपञ्चमीका लागि भारतको अयोध्याबाट सयौंको जन्ती नेपालको मटिहानी, जलेश्वर, पिपरा हुँदै जनकपुर पुग्ने कार्यक्रम तय भएपछि पालिकाहरुले तयारी थालेका हुन ।
भारतको अयोध्याबाट आउने जन्तीहरु मङसिर १७ गते नेपाली भूमिको जिल्लाको मटिहानीमा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ मटिहानी नगरपालिकाले स्वागतसहित रात्री विश्रामको व्यवस्थापन गर्नेछ । सो दिनको रात्री विश्रामपछि १८ गते मटिहानीबाट हिडेको जन्तीलाई जलेश्वरमा स्वागतसहित चिया तथा नास्ता र पिपरा पालिकामा भोजन व्यवस्थापन गरिने कार्यक्रम छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पालिकामा एउटा बैठक राखेर विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतको लागि कसरी अगाडि बढने विषयमा छलफल गरि निर्णयहरु गरिएको बताउनुभयो । उहाँले सयौंको सङ्ख्यामा विवाहपञ्चमीमा आउने जन्तीहरुलाई मटिहानी नगरपालिकाले स्वागत, रात्रीको भोजन तथा आवासको व्यवस्थापन गर्ने निर्णय गरिएको बताउनुभयो । हरेक पाँच पाँच वर्षमा जनकपुरमा हुने विवाहपञ्चमी समारोहमा भाग लिन अयोध्याबाट जन्तीहरु आउने परम्परा अनुरुप यसवर्ष पनि जन्ती आउने भएपछि स्वागत तथा सत्कारको लागि विभिन्न समिति बनाइएको मटिहानी नगरपालिकाका प्रमुख मण्डलले बताउनुभयो ।अयोध्याबाट आउने जन्तीको अगुवाइ अयोध्यामा रहेको राम मन्दिर ट्रष्टका सचिव चम्पत रायले गर्ने जनाइएको छ ।

Leave a Reply