रौतहट – हातेमालो सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका–६ मा सम्पन्न साधारणसभामा सहभागी वक्ताहरूले वन संरक्षणसँगै वन पैदावारको उचित उपयोग र उपभोक्ताको आर्थिक सशक्तीकरणमा जोड दिएका छन् ।
सभालाई सम्बोधन गर्दै मधेश प्रदेशसभाका पूर्वसदस्य धनलाल ठोकरले सामुदायिक वन उपभोक्ताको हितमा समूहले प्रभावकारी काम गर्दै आएको बताउनुभयो । उहाँले वन संरक्षण तथा संवद्र्धनमा समूहले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले वन क्षेत्रमा पाइने जैविक विविधता, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले सामुदायिक वन समूहप्रति आवश्यक अपनत्व लिन नसकेको उहाँको गुनासो थियो ।
सहायक वन अधिकृत अनिलकुमार महतोले हातेमालो सामुदायिक वनले दिगो वन व्यवस्थापनको अवधारणाअनुसार वन स्रोतको संरक्षण र उपयोग गर्दै उपभोक्ताको जीविकोपार्जनमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । चन्द्रपुर नगरपालिका– ६ का वडाध्यक्ष सहदेव केसीले उपभोक्ता र समूहका पदाधिकारीको सक्रियताका कारण वन क्षेत्र घना तथा हराभरा बन्दै गएको बताउनुभयो । महासंघका उपाध्यक्ष टिका आचार्यले वन संरक्षणसँगै वन पैदावारको उचित उपयोग र उपभोक्ताको आर्थिक अवस्था सुधारमा समेत सामुदायिक वन केन्द्रित हुनुपर्ने बताउनुभयो ।
समूहका अध्यक्ष रामलाल ठोकरको अध्यक्षतामा सम्पन्न सभामा सचिव सरिता घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । विमल रानाले सञ्चालन गर्नुभएको सभामा सरिता घिमिरे, शालिग्राम न्यौपाने र विमल रानामगरले विभिन्न प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाका अवसरमा सहायक वन अधिकृत अनिलकुमार महतोलाई सम्मानसमेत गरिएको थियो ।
















