निजगढ,रौतहटको चन्द्रपुर नगरपालिका– ४ मा मिनी ट्रक रोकेर चालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।बाराको निजगढबाट गोरु लोड गरेर रौतहटतर्फ जादै गरेको ना ८ ख १०१३ नम्बरको मिनी ट्रकलाई पूर्वपश्चिम लोकमार्गको लमाहा जंगलमा रोकेर चालक निजगढ ५ का किरण नेपाललाई लुटपाट गरेको आरोपमा प्रहरीले निजगढ नगरपालिका ४ बस्ने २५ वर्षीय अमर अधिकारी, सोही ठाउँ बस्ने लोकबहादुर सापकोटाको छोरा ३२ वर्षीय अरूण सापकोटा, मोहनबहादुर अधिकारीको छोरा २४ वर्षीय अमरबहादुर अधिकारी र मानबहादुर कुश्वारको छोरा २८ वर्षीय कृष्ण कुश्वारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गत असार २८ गते बिहान करिब २ः३० बजेको समूहमा उनीहरुसहित मोटरसाइकलमा गएको ६÷७ जनाको समूहले ट्रकमा ढुंगा प्रहार गरी चालकलाई त्रास देखाई नगद लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रायले ‘घटनापछि मोटरसाइकल छोडेर फरार भएका उनीहरुलाई सोही मोटरसाइकलको आधारमा खोजतलास गर्दा पक्राउ गरिएको हो ।’ उहाँले भन्नुभयो ।
घटनास्थलमा फेला परेको बा. ७४ प. १४९० नम्बरको पल्सर मोटरसाइकल बारा निजगढ नगरपालिका– ४ बस्ने २५ वर्षीय अमर अधिकारीलाई पक्राउ गरिएपछि अन्यलाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सो घटना पूर्वनियोजित र योजनाबद्ध रहेको देखिएको र फरार अन्यको पहिचान खुलाउने र पक्राउ गर्ने काम जारी राखिएको प्रहरीले जनाएको छ ।


















