वीरगञ्ज,वीरगञ्जबाट सोमवार राति पक्राउ परेका अभियन्ता दुर्गाप्रसाद प्रसाईं विरुद्ध पर्सा प्रहरीले विद्युतीय अपराध तथा राज्यविरुद्धको कसूर सम्बन्धी आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टाचार र सामाजिक सद्भावविरुद्ध असर पर्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार प्रसाईंले विभिन्न जातजाति तथा सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुग्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने तथा नेपाल सरकार र सरकारका कामकारबाहीप्रति निराधार, अप्रमाणित र अवहेलनापूर्ण अभिव्यक्ति दिएको आरोप लागेको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार यही जेठ ४ गते राति करिब ८ बजे वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट उहाँलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको जनाइएको छ ।प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसूर अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

















